काठमाडौं । प्रमुख प्रेमकुमार राईसहित १० जना हाई प्रोफाइल व्यक्तिलाई ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकलाई अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा नेपाल ल्याइएको छ।
काभ्रे घर भएका पाठकलाई बुधबार नेपाल ल्याइएको काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए । पाठकविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गरिएको थियो ।
सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै उनी भारत, इन्डोनेसिया हुँदै फिलिपिन्स पुगेका थिए । उग्रवादी संगठनको अध्यक्ष दाबी गर्ने पाठकलाई लिन प्रहरीको इन्टरपोल शाखाका एसपी रुपेश खड्का र जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना इन्स्पेक्टर फिलिपिन्स गएका थिए ।
पाठकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर उनले लोकमानसिंह कार्की, गोपालबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा,ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए ।
प्रकाश पाठकसँग ‘कनेक्सन’ मा देखिएका ३ जनालाई प्रहरीले यसअघि पक्राउ गरेको थियो ।






