वित्तीय अपराधले विश्वव्यापी अर्थतन्त्र र भावी पुस्तामाथि गम्भीर संकटः गभर्नर पोडेल

काठमाडाैं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली तथा सामाजिक संरचनामा गम्भीर असर पुर्‍याएको बताएका छन्।

बुधवार काठमाडौंमा आयोजित सम्पत्ति शुद्धीकरण सम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै उनले विश्वव्यापी रूपमा वार्षिक करिब ३.६ बिलियन अमेरिकी डलर बराबरको राजस्व नोक्सानी वित्तीय अपराधका कारण हुने उल्लेख गरे। उनका अनुसार यसको प्रभाव आर्थिक क्षतिमा मात्र सीमित नभई मानवीय मूल्यमा झन् भयावह रूपमा देखिएको छ।

यसले सामाजिक–आर्थिक खाडललाई गहिरो बनाउने मात्र नभई युवा र बालबालिकालाई आपराधिक सञ्जालमा प्रयोग गर्ने जोखिम बढाएको छ । नवीन सोच र सिर्जनशीलतामा लाग्नुपर्ने युवा पुस्तालाई अपराधको माध्यम बनाइनु सबैभन्दा खतरनाक परिणाम भएको उनको तर्क छ । सीमानाविहीन वित्तीय अपराधले कानूनी छिद्र र प्रविधिगत कमजोरीको फाइदा उठाउँदै तिब्र गतिमा रकम ओसारपसार गर्ने गरेको उनले बताए । यसलाई रोक्न प्रतिक्रियात्मक भन्दा पनि निरोधात्मक सुपरीवेक्षण आवश्यक रहेको र वित्तीय समावेशीकरणलाई असर नपर्ने गरी जोखिममा आधारित सुपरीवेक्षण प्रणाली लागू गर्नुपर्नेमा जोड दिए ।

गभर्नर पौैडेलले बैंकिङ, बीमा, धितोपत्र र सहकारी जस्ता सबै क्षेत्रका नियामक निकायहरूले सामूहिक रक्षापंक्तिको रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याए । आजको जोखिम टार्ने मात्र नभई भोलिको अनिश्चितता सामना गर्नसक्ने प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *