काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले चालु आर्थिक वर्ष २०८२/८३को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २६ करोड ४९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको पुससम्म कम्पनीले ६१ करोड ७१ लाख घाटा खाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीले घाटा घटाएको छ।
समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा ३९ लाख ७ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीलाई ३३ करोड ६७लाख रुपैयाँ सञ्चालन घाटा भएको थियो।
चालु वर्षको पुससम्म कम्पनीले उत्पादन बिक्री गरेर २ अर्ब ८ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको आम्दानी १ अर्ब ७३ करोड १९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको आम्दानी २०.१९ प्रतिशतले बढेको छ।
चुक्तापुँजी ५ अर्ब २ करोड ४४ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ६८ करोड ७० लाख रुपैयाँ र सेयर प्रिमियममा २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ रहेको छ।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५.२७ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १६६.५८ रुपैयाँ रहेको छ।






