रामेछापमा चुनावी चहलपहलबीच किसानलाई जुनारको चिन्ता

रामेछाप। देश चुनावी माहोलले तातिएको बेला रामेछापका जुनार कृषक भने बोटमै पाकेको जुनारको मूल्य कहिले पाइएला भन्ने चिन्तामा छन्।

रामेछाप नगरपालिका–७ ओख्रेनीका अधिकांश कृषकले राम्रो मूल्यको आशामा जुनार अझै बगैँचामै राखेका छन्।

यस वर्ष असोज–कात्तिकमा परेको लगातार वर्षाका कारण जुनार उत्पादन केही घटेको छ।

सामान्यतया मंसिरदेखि माघको पहिलो सातासम्म जुनार टिपिसक्ने मौसम भए पनि बेमौसममा बिक्री गर्दा राम्रो मूल्य पाइने अपेक्षाले धेरै कृषकले ढिलो टिप्ने गरेका हुन्।

गत वर्ष बगैँचाबाट बिक्री गर्दा प्रतिकिलो ५० रुपैयाँ मात्रै पाएको जुनार अहिले दानाको आकारअनुसार ६० देखि ९० रुपैयाँसम्म बिक्री हुन थालेको कृषकहरू बताउँछन्।

करिब पाँच सय बोटमा फल लागेको आफ्नो बगैँचाको जुनार राम्रो भाउ पाएपछि मात्र बिक्री गर्ने तयारीमा रहेको स्थानीय कृषक हिमाल तामाङ भन्छन्, “हामीलाई अहिले चुनावको रौनकभन्दा बोटमै पाकेको जुनारको मूल्य कहिले आउला भन्ने चिन्ता बढी छ।”

जुनार खेती दुईदेखि तीन वर्षमै उत्पादन दिन थाल्छ। बगैँचाभित्र भटमास, लसुन, प्याज, काउली र बन्दालगायत तरकारी लगाएर कृषकले दोहोरो आम्दानी लिँदै आएका छन्।

सिजनपछि बिक्री गर्दा राम्रो मूल्य पाइने आशाले आफूले पनि जुनार नबेचेको अर्का कृषक गिरीराज तामाङ बताउँछन्।

जुनारबाट जाम, जुस तथा अन्य पेय पदार्थ बनाएर पनि बिक्री हुँदै आएको छ। बजारको खासै समस्या नरहेको रामेछाप नगरपालिका–७ सुकाजोरका कृषक रामकुमार कार्कीको भनाइ छ।

तर जुनार जोन समन्वय समितिका प्राविधिकका अनुसार माघ अन्तिम सातादेखि फागुन पहिलो सातासम्म जुनार फुल्ने भएकाले त्यो समयसम्म बोटमै फल राख्नु उपयुक्त हुँदैन।

यसले अर्को वर्षको फूल र उत्पादनमा असर पार्ने उनीहरूको चेतावनी छ।

समयमै जुनार टिपेर शीत भण्डारमा राखी बेमौसममा बिक्री गरे कृषकलाई फाइदा हुने जुनार जोन समन्वय समिति अध्यक्ष गुञ्जबहादुर कार्की बताउँछन्।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापले मन्थली, रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकालाई जुनार जोनका रूपमा विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ५८० हेक्टर क्षेत्रफलमा जुनार खेती भएकोमा चालु आवमा ६८० हेक्टरमा विस्तार भएको नायब प्राविधिक सहायक भवानी बस्नेतले जानकारी दिइन्। उनका अनुसार “प्राविधिक रूपमा माघ–फागुनसम्म जुनार बोटमै राख्नु राम्रो होइन।”

हरेक जुनार उत्पादन हुने टोलमा शीत भण्डारको व्यवस्था गरी सिजनमा भण्डारण र बेमौसममा बिक्रीको व्यवस्था मिलाउन सके कृषकलाई थप फाइदा पुग्ने स्थानीय लोकेन्द्र श्रेष्ठ बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *