ग्लोबल आइएमई बैंकको नाफा ६.५० प्रतिशतले बढ्यो, दोस्रो त्रैमाससम्म ३ अर्ब २५ करोड

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५० प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको खुद नाफा ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी सामान्य घटे पनि सञ्चालन मुनाफा बढेकाले बैंकको खुद नाफा वृद्धि भएको बैंकले जनाएको छ।

विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३३ प्रतिशतले घटेको छ भने खुद फी तथा कमिसन आम्दानी ९.७४ प्रतिशतले बढेको छ।

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४.६९ प्रतिशतले वृद्धि हुँदा सञ्चालन मुनाफा १.७२ प्रतिशतले बढेको छ।

यद्यपि, बैंकको वितरणयोग्य मुनाफा घटेर २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ।

वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७३ पैसा रहेको छ। नाफासँगै प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४ पैसा बढेर १७ रुपैयाँ ६ पैसा पुगेको छ।

पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.२४ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ।

हाल बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २८ अर्ब ६९ करोड रुपैयाँ सञ्चित छ।

पुस मसान्तसम्म बैंकले ६ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *