१२ वर्षपछि नेपाल–साउदी श्रम सम्झौतामा हस्ताक्षर, श्रमिकको सेवा–सुविधा र रोजगार ग्यारेन्टी हुने

काठमाडौं। नेपाल र साउदीबीच श्रम सम्झौतामा हस्ताक्षर भएको छ। साउदी अरबको रियादमा श्रमिक भर्नासम्बन्धी श्रम सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतामा नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदी अरबका मानव संशाधन तथा सामाजिक विकासमन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका थिए।

मन्त्री भण्डारीले सम्झौताले नेपाल–साउदी अरबबीच श्रम सहकार्यलाई थप संस्थागत र मजबुत बनाउने विश्वास व्यक्त गरे।

सम्झौतापछि साउदीमा कार्यरत नेपाली श्रमिक हकहित रक्षा र रोजगारको सुरक्षा हुने विश्वास मन्त्री भण्डारीले व्यक्त गरेको श्रम मन्त्रालयले जनाएको छ।

सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणका विषयलाई प्राथमिकताका साथ समेटिएको साउदीस्थित नेपाली दूतावासले बताएको छ।

नेपालले साउदीसँग सम्झौताका लागि दशक अगाडिदेखि नै प्रस्ताव राख्दै आएको हो। सन् २०१० अगाडिदेखि नै नेपालले साउदीसँग सम्झौता प्रस्ताव गरिरहेको थियो।

खासगरी शून्य लागतमा (श्रमिक भर्ना प्रक्रियाको शुल्क रोजगारदाताले बेहोर्ने गरी) श्रमिक लैजाने सम्झौता गर्ने प्रस्ताव अघि सार्दै आए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन।

साउदीमा दुईपक्षीय श्रम सम्झौताबिनै वर्षौंदेखि नेपाली श्रमिकले निर्माण, सुरक्षा गार्ड, सरसफाइलगायत क्षेत्रमा काम गरिरहेका छन्।

कार्यस्थलमा दुर्घटना परेर बिरामी हुँदा, मृत्यु हुँदा तथा व्यवसायजन्य रोगबाट ग्रसित हुँदा श्रमिकहरूले रोजगारदाताबाट क्षतिपूर्ति नपाउने समस्या छ।

करार सम्झौतामा भने जस्तो काम, तलब तथा सेवासुविधा नपाउने, दैनिक ८ घन्टा काम लगाउने भनेर १८ घन्टासम्म लगाइँदै आएको गुनासो श्रमिकको छ। साउदीमा पाँच लाख हाराहारी नेपाली कार्यरत रहेको अनुमान छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *