काठमाडौँ । पछिल्लो समय आईपीओ निश्कासनपछि सूचीकृत भएका नयाँ कम्पनीका सेयरले नेप्सेमा उछाल देखाएका छन् ।
पुराना कम्पनीका सेयर मूल्य स्थिर रहँदा नयाँ सूचीकृत कम्पनी भने नयाँ उच्च मूल्य बनाईरहेका छन् ।
चालु आर्थिक वर्षमा सागर डिष्टिलरी, श्रीनगर एग्रिटेक र एसवाई प्यानल नेपाल सूचीकृत भएका छन् । यी तीनै कम्पनीको सेयर हालसम्मकै उच्च मूल्य नजिक कारोबार भइरहेको छ ।
शुरुवातमा कारोबार मूल्यको तुलनामा सागर डिष्टिलरीको सेयर ६१९.२५ प्रतिशत, श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको ३६३.४१ प्रतिशत र एसवाई प्यानल नेपालको ४३४.८७ प्रतिशतले बढिसकेको छ । सागर र श्रीनगर एग्रिटेकको कारोबारयोग्य सेयर कम रहेकाले माग उच्च देखिएको छ भने एसवाई प्यानलको कारोबारयोग्य सेयर तुलनात्मक रूपमा बढी भए पनि बजार आकर्षण कायमै छ ।
यस्तै, आव २०८१/८२ को पछिल्लो त्रैमासमा सूचीकृत बन्दीपुर केबुलकार, बुंगल हाइड्रो, दरमखोला हाइड्रो इनर्जी, विकास हाइड्रोपावर, प्योर इनर्जी, सान्भी इनर्जी, माबिलुङ इनर्जी, हिमस्टार ऊर्जा कम्पनी, ट्रेड टावर र झापा इनर्जीले पनि उल्लेख्य मूल्य वृद्धि देखाएका छन् ।
सेयर मूल्यका आधारमा स्वस्तिक लघुवित्तको सेयर सबैभन्दा महँगो करिब ३ हजार रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ । झापा इनर्जी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स र प्योर इनर्जीका सेयर १ हजार रुपैयाँभन्दा माथि पुगेका छन् ।
आव २०८१/८२ मा सूचीकृत कम्पनीहरूमध्ये स्वस्तिक लघुवित्त ६६५ प्रतिशतभन्दा बढीले बढेको छ भने ओम मेगाश्री, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, प्योर इनर्जी, झापा इनर्जी, बन्दीपुर केबुलकार र हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य पनि दोब्बरभन्दा बढीले वृद्धि भएको तथ्यांक छ ।






