प्रतिनिधिसभा निर्वाचन नलड्ने पूर्वप्रधानमन्त्री देउवाको घोषणा, ओली र दाहाललाई ‘दबाब’

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पाँचपटक मुलुकको प्रधानमन्त्री सम्हालेका शेरबहादुर देउवा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नउठ्ने भएका छन्।

२०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका देउवाले कांग्रेस नेतृत्वमा गगन थापा आएपछि टिकट नदिने निर्णयसँगै उम्मेदवार नहुने घोषणा गरेका हुन्।

यसपटक उम्मेदवार नहुने उनको सचिवालयले जनाएको छ। देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार डडेल्धुराबाट उम्मेदवार हुने चाहना राखे पनि पार्टीले टिकट नदिएपछि चुनाव नलड्ने घोषणा गरेका हुन्।

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई संरक्षक रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेको थियो।

यद्यपि कांग्रेसले देउवा समूहका अधिकांशलाई टिकट दिएको छ। देउवा अहिलेसम्म सात पटक निर्वाचित भइसकेका छन्।

भदौ २३ र २४ को जेनजी आन्दोलनले एमाले, कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका मुखिया क्रमशः देउवा, केपी ओली र पुष्पकमल दाहाललाई राजनीतिबाट विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेको थियो।

तर, ओलीले एमाले महाधिवेशनमार्फत पार्टी कब्जा गरेका छन् भने दाहाल संयोजक छन्। देउवालाई गगन थापा नेतृत्वको कार्यसमितिले बिदाइ गरेको छ।

देउवाले चुनावमा नउठ्ने घोषणा गरेसँगै ओली र दाहाललाई मनोवैज्ञानिक दबाब पर्ने निश्चित छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *