ओलीलाई योगेशको आग्रह– केही क्षेत्रमा उम्मेदवार मिलाउनुस्, म केही माग्दिनँ

काठमाडाैं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवारहरू मिलाउनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

सोमबार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

‘कमरेड अध्यक्ष तपाईं यो पार्टीको नेता हो। हामी सबैको सम्मानित नेता हो। तपाईंले विशाल छाती बनाउनुस्। यतिबेला महाधिवेशनमा मलाई सहयोग गरे कि गरेन भन्ने आधारमा पक्कै पनि तपाई उभिनु हुने छैन। यतिबेला नेकपा एमाले जित्छ कि जित्दैन भन्ने नै मिसन हो। शायद अध्यक्षको कुरा पनि त्यही नै हो मैले बुझे अनुसार। त्यसो भएको हुनाले देशभरका सात, आठ, नौ, १० वटा जति निर्वाचन क्षेत्रमा भोलि बिहानसम्म पनि मिल्छ भने उपयुक्त ढंगले उम्मेदवारहरू प्रस्तुत गर्ने काममा म अध्यक्षको ध्यानकर्षण गर्न चाहन्छु,’ उनले भनेका छन्।

उपमहासचिव भट्टराईले आफ्ना लागि केही नमागेको बताउँदै ताप्लेजुङबाट उम्मेदवार बन्ने इच्छा रहेको तर पार्टीले निर्णय गरिसकेकाले त्यसमा आफू उभिने बताएका छन्।

‘म स्पष्ट भइसकेँ कि, म ताप्लेजुङबाट उम्मेदवार हुन इच्छुक थिएँ। तर पार्टी अध्यक्षले सार्वजनिक ढंगले निर्णय गरेर पठाइसकेपछि अब म त्यसमा कुनै किचलो गर्ने वाला छैन। उहाँले जसलाई उम्मेद्वार बनाएर पठाउनु भएको छ, नेकपा एमालेको सूर्य चिह्न ध्वजावाहकलाईलाई जिताउनु मेरो कर्तव्य हुन्छ। म त्यसमा दृढताका साथ अघि बढ्छु। अब मेरो लागि मैले केही पनि माग गर्दिनँ,’ उनले भनेका छन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *