काठमाडाैं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वोच्च अदालत जाने पक्षमा नरहेको उनीनिकट नेताहरूले बताएका छन् । निवर्तमान सभापति शेरबहादुर देउवाको दबाबका कारण मात्र उनको समूह अदालतमा रिट लिएर पुगेको खड्कानिकट नेताहरूले बताएका हुन्।
खड्कानिकट एक नेताले बताए, “पूर्णबहादुर दाइले स्पष्ट रूपमा अदालत नजाऔं भनेर धेरै जोडबल गर्नुभएको हो तर देउवा र उहाँनिकट केही नेताहरूले अदालत जानैपर्ने अड्डी लिए।” अदालत जान हुन्न भन्ने पक्षमा खड्कासहित रमेश लेखक, श्यामकुमार घिमिरे लगायतका नेता पनि थिए। तर खड्काले भने बलियोसँग अदालत जान हुन्न भन्ने अडान नै राखेका थिए। खड्काको तर्क थियो कि विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिलाई विस्तार गरेर जान सकिन्छ। उनीनिकट अर्का एक नेताले भने, “बरू त्यसतर्फ कुरा गरौं। कम्युनिष्ट पार्टीहरूको केन्द्रीय समिति पनि ठूलो छ भन्ने धारणा पनि आएको थियो।”
अब आफ्नो चाहना नहुँदा नहुँदै विशेष महाधिवेशनबाट आएको कार्यसमितिविरूद्ध अदालतमा मुद्दा गएपछि आफू नैतिक हिसाबले यो चुनावमा उठ्न नमिल्ने धारणा खड्काले आफ्नो समूहमा राखेका छन्।
अदालतमा शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको नाममा वारेसमार्फत् मुद्दा दिएका थिए।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई मान्यता दिएको विरोधमा देउवा पक्ष अदालतमा रिट लिएर गएको थियो।







