प्रधानन्यायाधीशकाे राजीनामा माग्दै तेस्रो दिन पनि वकिलको प्रदर्शन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीले तेस्रो दिन मंगलबार पनि आन्दोलन जारी राखेका छन् ।

आइतबारबाट कालो पट्टी बाँधेर विरोधमा उत्रिएका उनीहरूले सोमबार पनि आफ्नो आन्दोलनलाई जारी राखेका हुन् । प्रधानन्यायाधीश जबराले आफू ‘सम्मानजनक बहिर्गमन’को पक्षमा रहेको सन्देश दिइसकेका अवस्थामा पनि उनको राजीनामा माग्दै कानुन व्यवसायीहरूले आन्दोलन जारी राखेका छन् ।

बारसहित सर्वाेच्च अदालतकै १९ जना न्यायाधीशहरू प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका छन् । उनीहरू इजलासमा समेत बसेका छैनन् ।

सोही क्रममा आन्दोलनमा उत्रिएका न्यायाधीशहरूलाई जबराले आफू सम्मानजनक बहिर्गमन हुन चाहेको सन्देश पठाएका थिए ।

कार्यपालिकासँग मिलेर राजनीतिक भाग खोजेको आरोप लगाउँदै प्रधानन्यायाधीश जबराको राजीनामा मागेर सर्वाेच्चकै न्यायाधीश र कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *