रौतहट । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१८ बडर्वा क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। मनहरीबाट कलैयातर्फ जाँदै गरेको पिकअप भ्यानबाट २०३ केजी ८५० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार पिलुवा–कलैया भित्री सडकखण्डमा शङ्काका आधारमा बीएसी २३४३ नम्बरको पिकअप गाडी रोकेर जाँच गर्दा गाडीको पछिल्लो भागमा फल्स बटम बनाई लुकाइछिपाइ ल्याइएको २० पोका गाँजा फेला परेको हो।
प्रहरी चौकी जैतापुरबाट असई निलप्रसाद मैनालीको नेतृत्वमा खटिएको टोली र अस्थायी ट्राफिक प्रहरी पोष्ट पिलुवाबाट प्रहरी हवलदार अनवर हुसेनको संयुक्त टोलीले उक्त गाँजा बरामद गरेको हो। गाडी चालक मकवानपुरको मनहरी गाउँपालिका–६ का २४ वर्षीय निशानबहादुर सुनचुरीलाई गाँजासहित नियन्त्रणमा लिइएको छ। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि दिउँसो इलाका प्रहरी कार्यालय सिमरा पठाइएको छ। बरामद पिकअप गाडी प्रहरी चौकी जैतापुरमै राखिएको छ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय बारा मातहतका इकाइहरूले अदालतबाट दण्ड–सजाय तोकिएर फरार रहेका तीन जना प्रतिवादीलाई पनि पक्राउ गरेका छन्। जिल्ला अदालतबाट फैसला भइसकेका तथा मुद्दापछि फरार रहेका उनीहरू लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएका हुन्।
पक्राउ पर्नेमा बैंकिङ कसुर मुद्दामा एक करोड रुपैयाँ विगो तोकिएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ स्थायी ठेगाना भई हाल ललितपुरको इमाडोलमा बस्दै आएका ४० वर्षीय श्री तामाङ रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले पक्राउ गरेको हो।
यस्तै, लागूऔषध मुद्दामा जितपुर सिमरा उपमहानगरपालिका–१६ का २७ वर्षीय उमेश भोलन पनि पक्राउ परेका छन्। उनी लामो समयदेखि फरार रहेका थिए।
त्यसैगरी, लेनदेन (विगो) सम्बन्धी मुद्दामा बारागढी गाउँपालिका–६ की ६५ वर्षीया हलिया थरुनीलाई इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।






