काठमाडौँ। नेपाली कांग्रेसका नेता दीपक खड्काले विशेष महाधिवेशन पक्षधरसँग भएको वार्ता सुखद नभएको बताएका छन्। सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सहमतिको प्रयासमा पार्टीका शीर्ष नेताहरू नै सक्रिय रहेको जानकारी दिए।
खड्काका अनुसार दुवै पक्षलाई एउटै ठाउँमा राखेर समाधान खोज्ने प्रयास भइरहे पनि अवस्था जटिल बनेको छ। ‘उहाँतिर उम्मेदवारी दर्ता चलिसकेको छ, यता केन्द्रीय समिति बैठक आह्वान गरिएको छ। अब के गर्ने भन्ने विषय परिघटनाले तय गर्छ, उनले भने।
पार्टी विधानको पालना अनिवार्य रहेको उल्लेख गर्दै उनले पार्टी छाडेपछि सामान्यतया निष्कासनको प्रक्रिया अपनाइने बताए। तर वार्ता जारी रहेकाले सहमतिमा टुंगिने आशा कायमै राखेर केन्द्रीय समिति बैठक बस्न ढिलाइ भइरहेको उनको भनाइ छ।







