काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका विभिन्न १८ वटा फर्ममा अनुगमन गरी कारबाही प्रक्रिया अघि बढाएको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत गतिविधि गरेको पाइएको भन्दै विभागले न्यू आर ए इन्टरप्राइजेजलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ।
पेन्ट्स कम्पनी, हार्डवेयर पसल तथा निर्माण सामग्री बिक्री गर्ने स्थानहरूमा गरिएको निरीक्षणका क्रममा उक्त फर्म दोषी ठहरिएको विभागले जनाएको छ।
अनुगमनमा परेका अन्य १७ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ। विभागका अनुसार बजारलाई व्यवस्थित बनाउन नियमित रूपमा अनुगमन तथा निरीक्षण गर्दै सुधार अभियान सञ्चालन भइरहेको छ।
विभागले कालोबजारी नियन्त्रण, उपभोक्ता हित संरक्षण र वातावरणीय मापदण्ड पालना गराउन निरन्तर कारबाही तथा सुधारात्मक कदम चाल्दै आएको जनाएको छ।






