काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आज अर्थात् पुस २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट पुस ९ गते अनुमति पाएको थियो। अनुमति पाएसँगै कम्पनीले प्रथम चरणमा आयोजना प्रभावितका लागि १८ लाख ७५ हजार कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गरेको हो।
आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आईपीओमा पस ३० गतेसम्म आवेदन दिन सकिनेछ भने आयोजना प्रभावितका लागि निष्कासन गरिएको आईपीओमा माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ। निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेडले गर्नेछ।
आयोजना प्रभावितले नबिल बैंकको तानसेन, बर्दघाट, बुलिबटार र गैंडाकोट शाखा, प्रभु बैंकको पाल्पा, बर्दघाट, परासी र बेलातारी शाखा र सिद्धार्थ बैंकको पाल्पा, बर्दघाट र परासी शाखा कार्यालयमा आवेदन फाराम पाउन र बुझाउन सक्नेछन् भने वैदेशिक रोजगारेले धितोपत्र बोर्डबाट अनुमति पाई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।






