काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम विगत छ महिनादेखि कार्यबाहक (कामु) नेतृत्वकै भरमा सञ्चालन हुँदै आएको छ । प्रबन्ध निर्देशक संगीता पहाडीसहितका उच्च तहका अधिकारी भ्रष्टाचार प्रकरणमा मुछिएपछि सरकारले गत जेठ २८ गते मन्त्रीस्तरीय निर्णयमार्फत सबिना मास्केलाई कामु प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो ।
तर ,कामु नेतृत्वको कार्यक्षमता र समन्वय अभावका कारण टेलिकमका कर्मचारी भने हैरानीमा परेका छन् । टेलिकमका एक उच्च तहका कर्मचारीका अनुसार कामु प्रबन्ध निर्देशक मास्केले संस्थाभित्र आवश्यक समन्वय गर्न नसक्दा काम गर्ने वातावरण प्रभावित बनेको छ ।
‘उहाँको समन्वय नै देखिँदैन । काम गर्ने र गराउने शैली त झनै छैन । स्वभाव निकै कडा छ, मिलिटरी जस्तै । अरूको कुरा सुन्नुहुन्न,’ उनले नाम उल्लेख नगर्ने सर्तमा भने ।
अर्का एक कर्मचारीले पनि मास्केको व्यवहारप्रति असन्तुष्टि जनाए । उनका अनुसार कामु प्रबन्ध निर्देशक मास्के अधिकांश समय तनावमा देखिन्छिन् र संस्थागत बिषयमा उठेका बिषयमा छलफल गर्न खोज्दा झर्कने तथा चिढिने गर्छिन् ।
‘पारिवारिक तनावका कारण हो कि स्वभाव नै त्यस्तो हो, थाहा भएन । तर, उहाँ जहिले पनि तनावमा देखिनुहुन्छ । कुनै विषयमा समन्वय गर्न खोज्दा झर्किनुहुन्छ । हामी त हैरान भइसक्यौं,’ उनले भने ।
ती कर्मचारीका अनुसार श्रीमान् भ्रष्टाचार मुद्दमा निलम्बित भएदेखि नै मास्के पारिवारिक एवम् मानसिक तनावमा छिन्।
को हुन् मास्के ?
सबिना मास्केले २०४९ माघ २५ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्तिमार्फत सेवा प्रवेश गरेकी थिइन् । चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बीई अध्ययन गरेकी मास्केको प्राविधिक पृष्ठभूमि भए पनि नेतृत्वदायी भूमिकामाथि भने गम्भीर प्रश्न उठ्न थालेका छन् ।
उनका श्रीमान टेलिकमको भ्रष्ट्राचार मुद्दामा परे लगत्तै मास्केलाई टेलिकमको काम चलाउ प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको थियो ।
बिलिङ प्रणाली खरिदमा भ्रष्ट्राचार गरेको अभियोगमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएपछि सविना मास्के प्रधान निमित्त प्रबन्ध निर्देशक बनेकी हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पहाडीसहित १७ जना व्यक्ति र एक कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
काम चलाउ प्रबन्ध निर्देशक बनेकी मास्के तिनै व्यक्ति हुन्, जसले बिलिङ प्रणाली खरिदमा भएको भ्रष्टाचारको मुद्दामा बयान दिएकी थिइन् ।
कास्केका श्रीमान् अमुल प्रधान पनि यही मुद्दामा निलम्बनमा परेका छन् । अमुल तत्कालीन निमित्त निर्देशक पदमा कार्यरत थिए ।
३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ बिगो कायम गरी उनीहरू १४ जनाविरुद्ध नै बिगोबमोजिम जरिवाना तथा हानिनोक्सानी भइसकेको ९ करोड ८८ लाख ४१ हजार ९ सय ५६ रुपैयाँ असुलउपर गर्न मागदाबीसहित अभियोगपत्र दायर गरिएको छ ।
मुख्य कसुरदारको अभियोग लगाइएका उनीहरू सबैलाई १० देखि १४ वर्षसम्मका दरले कैद सजाय हुनुपर्ने अख्तियारको मागदाबी छ ।
काम चलाउकै भरमा टेलिकम- कार्यसम्पादन प्रभावित
नेतृत्व अभावकै कारण टेलिकमका नीतिगत, प्रशासनिक र आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको कर्मचारीहरू बताउँछन् । हाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रिया विवादमा परेको छ । सोही प्रणालीका कारण टेलिफोन तथा मोबाइल सेवामा समस्या देखिएको, बेलाबेलामा रिचार्ज नहुने र सिस्टम नै डाउन हुने अवस्था आएको गुनासो छ ।
बिलिङ प्रणाली खरिद विवादमा – छानबिन समिति गठन
यस विषयमा प्रतिक्रिया लिन खोज्दा कामु प्रबन्ध निर्देशक मास्केले भने टेलिकममा कुनै समस्या नरहेको दाबी गरिन् । कर्मचारीबाट यस्ता गुनासा आए १९७ नम्बरमा गुनासो दर्ता गर्न सकिने उनको सुझाव छ ।
बिलिङ प्रणाली खरिद प्रक्रियालाई लिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छानबिन समिति समेत गठन गरेको छ । तर, मन्त्रालयका सचिव राधिका अर्यालले छानबिन समिति गठन भए पनि खरिद प्रक्रिया मन्त्रालयले नरोकेको स्पष्ट पारिन् ।
‘यो विषय टेलिकमकै अधिकार क्षेत्रभित्र पर्छ । स्वायत्त निकाय भएकाले बिलिङ प्रणाली खरिद गर्ने–नगर्ने निर्णय टेलिकमले नै गर्ने हो,’ उनले भनिन्, ‘यस्ता विषय बोर्डको होइन, कार्यकारी निकायले नै टुंग्याउने विषय हो ।’







