साम्बाको घुँडामा चोट, ९ देखि १२ महिना मैदान बाहिर रहनुपर्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ घाइते भएकी छन् । अस्ट्रेलियन ए लिग फुटबलमा वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी ‘साम्बा’ले घुँडाको गम्भीर चोटका कारण ए–लिगको बाँकी खेल गुमाउने भएकी हुन् ।

ब्रिस्बेनमा शनिबार ब्रिस्बेन रोअरविरुद्धको राउन्ड ११ को खेलको दोस्रो हाफमा उनी घाइते भएकी हुन् । रोअर गोलकिपरसँगको ठोक्किँदा साम्बाको दाहिने खुट्टामा चोट लागेको छ । हावामा उडिरहेको बललाई हेड हान्ने क्रममा साम्बा र रोअरका किपर एक ठोक्किएका थिए ।

उनी आबद्ध क्लब वेलिङ्गटन फिनिक्सले बुधबार साम्बाको चोटबारे जानकारी दिएको हो । उनको चोट गम्भीर भएकाले सिजनभर उनी मैदानमा नरहने क्लबले जनाएको छ । वेलिङ्गटन फिनिक्सका अनुसार एमआरआई स्क्यानले साम्बाको दाहिने घुँडामा एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) ग्राफ्ट फुटेको देखाएको छ र उनी ९ देखि १२ महिनासम्म मैदान बाहिर रहनेछिन् ।

साम्बा सिजन २०२५–२६ का लागि गत साउनमा वेलिङ्टन फिनिक्ससँग आबद्ध भएकी थिइन् । उनले अब यो सिजनका सबै खेल गुमाउनेछिन् । वेलिङ्टन फिनिक्स न्युजिल्यान्डको क्लब हो । तर, उसले अस्ट्रेलियन क्लबहरूको बाहुल्यता भएको ए–लिग वुमन खेल्ने गर्छ ।

वेलिङ्टन फिनिक्सकी प्रशिक्षक बेभ प्रिस्टम्यानले साम्बा उत्कृष्ट खेलाडी मात्र नभई सबैले माया गर्ने व्यक्ति भएको बताउँदै टोली उनको चोटबाट निकै दुःखी भएको भनिन्। साम्बाले छिटो फर्कने दृढ इच्छा देखाएको पनि उनले बताइन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *