नेपालीका लागि अमेरिकी भिसामा नयाँ कडाइ: धरौटी अनिवार्य, तीन ठाउँबाट मात्रै प्रवेश अनुमति

काठमाडौं। अब नेपाली नागरिकले अमेरिकाको व्यवसायिक (बी–१) र भ्रमण (बी–२) भिसा लिन सुरुवातमै धरौटी रकम राख्नुपर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयले आगामी जनवरी २१ (माघ ७) देखि यो व्यवस्था लागू हुने जनाएको छ।

नयाँ नियमअनुसार बी–१ र बी–२ भिसा पाउने व्यक्तिले अधिकतम ६ महिनासम्म अमेरिकामा बस्न पाउने छन्। तर सबै आवेदकले अनिवार्य रूपमा धरौटी बुझाउनुपर्ने भने छैन। भिसा अन्तर्वार्ताका क्रममा दूतावासका कन्सुलर अधिकारीले आवश्यक ठानेमा मात्रै धरौटी तिर्न निर्देशन दिने जनाइएको छ।

कन्सुलर अधिकारीको निर्णयअनुसार आवेदकले ५ हजार डलर (करिब ७ लाख २२ हजार), १० हजार डलर (करिब १४ लाख ४४ हजार) वा १५ हजार डलर (करिब २१ लाख रुपैयाँ) धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ। धरौटी बुझाउँदा अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (आइसिई) को फाराम भरेर बुझाउनुपर्नेछ। उक्त रकम भिसा प्राप्त गर्ने व्यक्तिले आफैं तिर्नुपर्नेछ भने तेस्रो पक्ष वा अन्य वेबसाइटमार्फत भुक्तानी गर्न नपाइने स्पष्ट गरिएको छ।

भिसा प्राप्त गरेभन्दा बढी समय अमेरिकामा बसेको खण्डमा धरौटी रकमबाट कट्टा गरिने जनाइएको छ। अमेरिका प्रवेशका बेला नै फर्कने मिति रेकर्ड गराउनुपर्नेछ। निर्धारित समयमै अमेरिका छाडेर स्वदेश फर्किएपछि भने धरौटी रकम फिर्ता गरिनेछ। भिसा पाए पनि यात्रा नगरेको अवस्थामा, वा भिसाका लागि आवेदन दिएर विमानस्थलमै फर्काइएमा पनि धरौटी फिर्ता हुने अमेरिकी काउन्सिलर विभागले जनाएको छ।

धरौटी तिरेकै भरमा भिसा पाइने सुनिश्चितता भने नहुने स्पष्ट पारिएको छ। कन्सुलर अधिकारीको निर्देशनबिनै कसैले धरौटी बुझाएमा त्यस्तो रकम फिर्ता नहुने चेतावनी पनि दिइएको छ। त्यस्तै, बी–१ वा बी–२ भिसामा अमेरिका गएपछि अन्य प्रकारको भिसाका लागि आवेदन दिएमा वा शरणार्थीको प्रक्रिया अघि बढाएमा धरौटी रकम जफत हुने जनाइएको छ।

धरौटी व्यवस्थासँगै अमेरिकाले यस्ता भिसा पाउने नेपाली नागरिकका लागि प्रवेश र प्रस्थान गर्ने विमानस्थल पनि तोकेको छ। अब बी–१ र बी–२ भिसा भएका व्यक्तिले बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थल, न्यूयोर्कको जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल र वासिङ्टनस्थित डुलिस इन्टरनेसनल एयरपोर्टबाट मात्र अमेरिका प्रवेश र प्रस्थान गर्न पाउने छन्। तोकिएका विमानस्थलबाहेक अन्य स्थानबाट प्रवेश वा प्रस्थान गर्न खोजेमा सम्बन्धित व्यक्तिलाई अमेरिकी अधिकारीले नियन्त्रणमा लिन सक्ने उल्लेख गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *