काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूचीप्रति चौतर्फी आलोचना एवम् असन्तुष्टिपछि उत्पन्न विवादका कारण एकपछि अर्को गर्दै उम्मेदवारले नाम फिर्ता लिएका छन् सोहिक्रममा अरनिको पाँडेले पनि समानुपातिक सूचीबाट आफूले नाम फिर्ता लिने घोषणा गरेका छन्।
समानुपातिकको मर्मविपरीतका व्यक्तिलाई सूचीमा राखेपछि भएको विवादकै कारण टासी शेर्पा, गायीका त्रिशला गुरुङ, उधमी आसिफ शाह, अर्बपती व्यापारीका छोरा सचिन ढकाल र महेन्द्र लावतीले नाम फिर्ता लिइसकेका छन्। सूची संशोधनका लागि निर्वाचन आयोगले पुस २८ गतेसम्मको समय दिएको छ।
नाम फिर्ता लिएको जानकारी गराउँदै पाँडेले फेसबुकमा लेखेका छन्- “म सधैँ देश र समाजलाई सबैभन्दा ठुलो योगदान दिन सक्ने बाटो खोज्ने र रोज्ने गर्छु। पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्द सूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरूलाई बन्द सूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ। मलाई बन्द सूचीमा पुर्याउने सबै साथीहरूलाई फेरि एक पटक धन्यवाद दिँदै रास्वपालाई आउँदो चुनावमा जिताउने तिर ध्यान दिनेछु।”






