काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने गरी अघि बढेको जानकारी दिएका छन् ।
‘४९औँ राष्ट्रिय एकता र मेलमिलाप दिवस’को अवसर पारेर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको सन्देशमा थापाले आजभन्दा ४९ वर्षअघि विषम परिस्थितिमा बीपी कोइराला, गणेशमान सिंहलगायत नेताहरूले ‘राष्ट्रिय एकता र मेलमिलाप’को आह्वान गर्दै नेपाल फर्किएको ऐतिहासिक दिन स्मरण गरेका छन्।
उनले भनेका छन्, ‘राष्ट्रिय एकता र मेलमिलाप दिवसको ऐतिहासिक अवसरमा आम जनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस् भन्ने कामना गर्दछु।’
थापाका अनुसार, परिवर्तनको यात्रामा एक–अर्कालाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधका साथ अघि बढ्ने प्रेरणा आवश्यक छ।
राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस निर्माण गर्नु हरेक कांग्रेस कार्यकर्ताको युगीन जिम्मेवारी भएको उल्लेख गर्दै थापाले सोही जिम्मेवारी पूरा गर्न विशेष अधिवेशनको बाटो रोजिएको बताएका छन्। उनले भने- ‘हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ।’






