‘नेपाल लाइफ समृद्धि लगानी योजना’ सेबोनद्वारा स्वीकृत

काठमाडाैं । ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक सामूहिक लगानी कोषले आफ्ना ईकाइहरू बिक्रीमा ल्याउने भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवर्द्धक र नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त योजनाले नेपाल धितोपत्र बोर्ड​ (सेबोन)बाट स्वीकृति समेत पाइसकेको छ ।​

सेबोनले यही पुस १३ गते प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरको १६ करोड ईकाइले हुन आउने कुल १ अर्ब ६० करोड रकम बराबरको फन्ड जारी गर्न अनुमति प्रदान गरेको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको यो पहिलो बन्दमुखी योजना हो । यसको अवधि १० वर्षको रहेको कम्पनीले जनाएको छ ।

निष्काशन हुन लागेको नेपाल लाइफ समृद्धि लगानी योजनाको ईक्रा नेपाल लिमिटेडबाट कोष प्रवर्द्धनका लागि रेटिङ्ग एए– प्राप्त गरेको छ ।

फन्ड बिक्रीबाट संकलन भएको रकम धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र बजारमा सूचीकृत धितोपत्र, बैंक निक्षेप, मुद्रा बजार उपकरण, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरूमा निष्काशनपश्चात लगानी गर्ने कम्पनीले जनाएको छ ।

योजना व्यवस्थापकद्वारा सम्पूर्ण प्रक्रिया पूरा गरी चाँडै नै सर्वसाधारणहरूका लागि ईकाइहरू बिक्रीमा ल्याउने कम्पनीको योजना छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *