दुर्गा प्रसाईंलाई बुद्धको फोटो उपहार दिँदै प्रधानमन्त्री कार्कीले भनिन्– शान्ति स्थापनाको बाटो निर्वाचन हो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति, अमनचयन र दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन भएकाले यसलाई सफल बनाउन सबै पक्षले सहयोग गर्नुपर्ने बताएकी छन्।

आज बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँसँग भएको भेटमा प्रधानमन्त्री कार्कीले मुलुकले अब अस्थिरता र अशान्ति धान्न नसक्ने अवस्था आइसकेको उल्लेख गर्दै आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण माध्यमबाट राख्न आग्रह गरिन्।

मुलुक निर्वाचनमा होमिइसकेको जानकारी दिँदै उनले अब जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको बताइन् । ‘धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति सुव्यवस्थामा फर्काएका छौँ’, उनले भनिन्, ‘सबै खालका संशयहरुलाई चिर्दै मुलुक पूर्णरुपमा निर्वाचनको माहोलमा होमिएको छ। यस्तो बेलामा सबै पक्षबाट जिम्मेवार भूमिकाको अपेक्षा हामीले गरेका छौँ। यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै पक्ष जिम्मेवार बनौं।’

प्रधानमन्त्री कार्कीले प्रसाईँलाई शान्ति कायम राख्न आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार पनि दिइन्।

‘हामी पनि न्यायका पक्षधर हौँ ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यहाँ सत्ताभोग र सुखसयल गर्न आएका होइनौँ। भ्रष्टाचारको अन्त्य, शोषित(पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी गरेका छौँ। सबै कुराको नतिजा रातारात नदेखिए पनि हामीले आधारशीला तयार पार्दै गएका छौँ। तपाईँले उठाउनुभएका कतिपय जायज मुद्दाको सम्बोधनका लागि पनि सरकारले गृहकार्य गरिरहेकै छ। अझै थप छलफल गर्दै जाऔँला।’

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *