काठमाडौं । अमेरिकाले अवैध रूपमा बसोबास गरिरहेका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। बिहीबार दिउँसो चार्टर्ड विमानमार्फत उनीहरूलाई काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।
डिपोर्ट हुनेमा ३ महिला र ७२ पुरुष रहेका छन्। उनीहरूमध्ये अधिकांश अवैध बाटो हुँदै अमेरिका पुगेका रहेको नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिए। डिपोर्ट हुनेमा भिजिट भिसामा बस्ने दुई जना र पीआर कार्ड नवीकरण नभएका एक व्यक्ति पनि छन्।
पंगेनीका अनुसार फर्काइएकाहरूले अमेरिका पुग्न बिचौलियालाई एक करोड रुपैयाँसम्म बुझाएको बयान दिएका छन्। डिपोर्ट गरिएकालाई अध्यागमन कार्यालयमार्फत थप अनुसन्धानका लागि ब्युरोमा पठाइने छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएयता हालसम्म ३० महिलासहित ४३९ नेपाली डिपोर्ट भइसकेका छन्। पछिल्लो सात वर्षमा भने ६६६ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन्।







