गैरदलिय सरकारमा बसेर दल खोल्नु नैतिकहीन हो: जेन्जी नेपाल संयोजक सहनी

काठमाडौँ । जेन्जी नेपालका संयोजक तथा सामाजिक अभियन्ता कृष्ण मोहन सहनीले गैरदलिय सरकारका मन्त्रीहरूबाट भइरहेको दलिय गतिविधिलाई नैतिकहीन र संविधानविपरीत भएको कठोर आरोप लगाएका छन्।

सहनीका अनुसार गैरदलिय सरकार गठन गर्ने मुख्य उद्देश्य राजनीतिक अस्थिरता हटाउने, दलगत दन्दाबाट देशलाई बाहिर निकाल्ने र निष्पक्ष सरकार सञ्चालन गर्ने थियो। तर त्यही सरकारका मन्त्रीहरूले पार्टी गठनदेखि दलिय अभियानसम्म चलाउन थालेको घटनाले गैरदलिय सरकारप्रति जनविश्वास नै डगमगाउने चेतावनी दिए।

सहनीले भने, गैरदलिय सरकारमा बसेर दल खोल्नु वा दलिय अभियान चलाउनु संविधानले कल्पना गरेको निष्पक्षताको सिद्धान्तविपरीत छ। यस्तो कदमले गैरदलिय सरकारलाई राजनीतिक खेलको मेसिनमा रूपान्तरण गर्ने खतरा बढाउँछ।

उनी झन् कठोर बने- कुलमान घिसिङले गैरदलिय मन्त्री भएर दल खोल्नु र दलिय गतिविधि सञ्चालन गर्नु संविधानको मर्म र लोकतान्त्रिक मर्यादामाथिको प्रत्यक्ष आघात हो। सामाजिक अभियन्ता सहनीले गैरदलियताको आधारभूत मूल्य- निष्पक्षता, पारदर्शिता र जनउत्तरदायित्व-माथि प्रहार गर्ने यस्तो गतिविधि तत्काल रोक्न सरकारलाई आग्रह गरे।

देश राजनीतिक स्थिरता खोजिरहेको अवस्थामा गैरदलिय सरकारभित्रै दलिय खेल खेलिनु अस्वीकार्य छ। जनताको विश्वासको दुरुपयोग गर्दै मन्त्री पद समातेर फेरि दल खोल्ने खेल अब सह्य हुँदैन, सहनीको टिप्पणी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *