बाराको सिमरा क्षेत्रमा आज पनि कर्फ्यू आदेश जारी

काठमाडौं। जिल्ला प्रशासन कार्यालय बाराले सिमरा क्षेत्रमा उत्पन्न तनाव नियन्त्रण गर्न आज पनि कर्फ्यू आदेश जारी गरेको छ। सिमरामा जेनजी समूहले बिहानैदेखि पुनः प्रदर्शन गरेपछि स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको हो।

कर्फ्यू आदेश वीरगञ्ज-पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म लागू गरिएको छ। उक्त अवधिमा कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक वा घेराउ लगायतका कार्यक्रम गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

यसअघि बुधबार नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीच एमाले नेता महेश बस्नेतको बारा भ्रमणलाई लिएर झडप भएको थियो। त्यसपछि स्थिति थप बिग्रन नदिन स्थानीय प्रशासनले हिजो पनि सिमरा क्षेत्रमा कर्फ्यू लगाएको थियो। आज फेरि तनाव बढेपछि कर्फ्यूलाई निरन्तरता दिइएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *