काठमाडौं । युनिलिभर नेपालको खुद नाफा ४३ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ३० करोड रुपैयाँ छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५२ करोड ६९ लाख रुपैयाँ थियो । आम्दानी गत आवको पहिलो त्रैमासमा २ अर्ब २५ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्बमा खुम्चिएको छ ।
कम्पनीको कुल खर्च सामान्य बढेको छ । यस्तो खर्च पहिले १ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब ६६ करोड रुपैयाँ छ । कच्चा पदार्थको लागत महँगिदा कुल खर्च बढेको देखिन्छ ।
पहिलो त्रैमासको मात्रै कम्पनीको प्रतिसेयर आम्दानी ३२६ रुपैयाँ छ भने वार्षिक प्रतिसेयर आम्दानी १ हजार ८८४ रुपैयाँ छ । गत वर्षको यसै अवधिमा वार्षिक प्रतिसेयर आम्दानी २ हजार ९६ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ बढेको छ । प्रतिसेयर नेटवर्थ पहिले ५ हजार ८३६ रुपैयाँ रहेकोमा अहिले ६ हजार ३ रुपैयाँ छ ।
चुक्ता पूँजी जम्मा ९ करोड २१ लाख रुपैयाँ रहेको यस कम्पनीको सञ्चित आम्दानी ५ अर्ब ४३ करोड रुपैयाँ छ ।







