सामाजिक सुरक्षा कोषको निक्षेप लिन बैंकहरुद्वारा अस्वीकार

काठमाडौँ। सामाजिक सुरक्षा कोषको आवश्यकता र औचित्यमाथि नै प्रश्न उठिरहेको बेला कोष नयाँ वित्तीय संकटमा परेको छ। सेवाग्राहीबाट उठाएको अर्बौं रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा ‘फिक्स डिपोजिट’(मुद्दती निक्षेप) का रूपमा राखिएको रकम नविकरण नहुँदा कोषसँगै ग्राहकको रकम जोखिममा परेको हो।

कोषले सेवा योगदानकर्ताबाट संकलन गरेको रकम बैंक तथा वित्तीय संस्थामा फिक्स डिपोजिटमा राखेर सोही निक्षेपबाट प्राप्त ब्याजका माध्यमबाट योगदानकर्तालाई प्रतिफल दिने योजना बनाएको थियो। तर, सो योजना असफल बनेको छ।

सामाजिक सुरक्षा कोषमा व्यवस्था भएअनुसार श्रमिकको जम्मा रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा कोषले यस व्यवस्थामाथि मनपरी गरिरहेको पाईइएको छ। कोषको सेवाग्राहीको अधिकांश रकम बैंक तथा वित्तीय सँस्थाहरुमा हुने ‘फिक्स्ड डिपोजिट मा राखिएको छ। जसबाट आउने ब्याजबाटै कर्मचारीको तलब भुक्तानी हुने गरेको भेटिएको छ। त्यसमाथि श्रमिकबाट संकलित रकमबाट कोषका कर्मचारीले भने विलासी सेवा उपभोग गरिरहेका छन् भने तलब सुविधा अत्याधिक छ। तर, श्रमिकले उचित प्रतिफल पाएका छैनन्।

कोषले लगानी गर्ने ठाउँ नपाएपछि केही समयअघि अत्यन्तै न्यून ब्याजदरमा रकम विभिन्न बैंकहरूमा फिक्समा राखेको थियो। तर, सोहि लगानी पनि बिचल्लीमा परेको छ। पछिल्ला महिनाहरूमा लगानी सुस्त हुँदा बैंकिङ प्रणालीमा तरलता बढेपछि बैंकहरूले फिक्स डिपोजिट रकम नलिने वा नविकरण गर्न अस्वीकार गरेका छन्।

कोषले बैंकहरूमा राखेको अधिकांश रकमको निक्षेप अवधि समाप्त भइसकेको छ। नविकरणका लागि कोषले बैंकका सिइओदेखि नेपाल राष्ट्र बैंकका अधिकारीहरूसम्मको ढोका ढकढक्याए पनि नविकरण हुन सकेको छैन। कोषले २ प्रतिशत ब्याजदरमा राखेको रकम समेत नवीकरण हुन नसक्दा कोष सेवाग्राहीलाई सुविधा दिने त परै जावस् कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थामा पुगेको छ।

बैंकहरूले हाल निक्षेपमा सीमितता लगाइरहेका कारण कोषको अर्बौं रुपैयाँ अहिले निष्क्रिय अवस्थामा छ। तरलता बढे पनि लगानी नबढेपछि बैंकहरू फिक्स डिपोजिट लिने पक्षमा नरहेको अधिकारीहरूको भनाइ छ। यसले कोषमा संकलित रकमको उपयोगिता र सुरक्षामाथि नै प्रश्न उठेको छ।

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार सञ्चालन गर्दै आएको छ। करिब ९३ अर्ब रुपैयाँ संकलन गरी २५ लाखभन्दा बढी श्रमिकलाई आवद्ध गराएको कोषको मुख्य लगानी ‘बैंक निक्षेप’ नै हो। कोषको लगानी कार्यविधि २०७७ अनुसार उत्पादनशील क्षेत्रमा लगानी गर्ने व्यवस्था भए पनि व्यवहारमा कोषले उक्त नियमको उल्लङ्घन गर्दै आएको छ।

हाल कोषमा देखिएको हाहाकारको स्थितले कोषको लगानी रणनीति नै असफल भएको संकेतका रूपमा लिइएको छ। न्यून ब्याजदरमा रकम राख्ने, लगानीको विविधिकरण नगर्ने र समयमै योजना पुनरावलोकन नगर्ने कारणले योगदानकर्ताको रकम जोखिममा परेको देखिन्छ।

कोषले आफ्ना लगानी स्रोत विस्तार गर्न सकेको छैन। औद्योगिक, पूर्वाधार वा उत्पादनशील क्षेत्रमा लगानीको ठोस योजना नबनाइएकै कारण कोषले बैंक वित्तीय सँस्थामा राखेको रकम बिचल्ली अवस्थामा पुगेको देखिन्छ।

बैंकका एक अधिकारीका अनुसार तरलता बढी भएको र बैंकहरुको लगानी गर्ने क्षेत्र समेत सुस्ताएको अवस्थामा बैंकहरू आफैंले पनि फिक्स डिपोजिट लिन हिचकिचाएका छन्। यस्तो अवस्थामा सामाजिक सुरक्षा कोषले आफ्नो लगानी नीति पुनरावलोकन गर्न जरुरी रहेको उनी बताउँछन्।

योसँगै योगदानकर्ताहरूले कोषमा जम्मा गरेको रकम सुरक्षाको चिन्ता व्यक्त गर्न थालेका छन्। सामाजिक सुरक्षाको नाममा संकलित रकम नै जोखिममा परेपछि कोषको विश्वसनीयता फेरि एकपटक डगमगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *