संघीयता माथि सम्झौता भयो भने मधेस पुनः बिद्रोहमा उत्रिन्छ: कृष्ण मोहन सहनी

काठमाडाैं। संघीयताको मर्ममा आघात पुर्‍याउने कुनै पनि प्रयास भए मधेस पुनः आन्दोलनमा उत्रिने चेतावनी मधेस जागरण अभियानका अध्यक्ष तथा सामाजिक अभियन्ता कृष्ण मोहन सहनीले दिएका छन्। सहनीका अनुसार संघीयता मधेसको पहिचान, अधिकार र अस्तित्वसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो, जसमा सम्झौता गर्नु वा त्यसलाई कमजोर पार्ने प्रयास गर्नु मधेस विरोधी कदमको रूपमा लिइनेछ।

उनले भने- संघीयता मधेसको आत्मा हो, यसमा सम्झौता भयो भने मधेस फेरि आन्दोलनमा उत्रिन्छ। संघीयता माथि कुनै किसिमको सम्झौता भयो भने मधेस बिद्रोहमा जान्छ। सहनीले संघीयतामा देखिएका विकृति, कमजोरी र विसंगतिलाई तत्काल सच्याउनुपर्ने आवश्यकता औंल्याए। तर, संघीयताको खारेजी वा संरचना तोड्ने सोचलाई भने उनले कडा रूपमा चेतावनी दिए।

उनले भने-संघीयतामा भएका विकृतिहरू परिमार्जन गर्नुपर्छ, सच्याउनुपर्छ, तर सिध्याउन खोज्ने जोसुकै भए पनि मधेसले ठाउँको ठाउँ प्रतिवाद गर्नेछ। सहनीले मधेसले दशकौँ लामो संघर्ष र बलिदानपछि संघीयता प्राप्त गरेको स्मरण गराउँदै त्यसमा सम्झौता गर्नु भनेको मधेसको रगतमाथि धोका गर्नु भएको बताए। उनले मधेसका युवालाई सचेत रहन र आफ्नो अधिकार र पहिचानमाथि आँच आउँदा दृढतापूर्वक प्रतिकार गर्न आह्वान गरे।

मधेस जागरण अभियानले हाल संघीय संरचनाको संरक्षण, मधेसको अधिकार सुनिश्चितता र जनचेतना अभिवृद्धिका लागि विभिन्न जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। अभियानले मधेसका जनतालाई संघीयता र समावेशी शासन प्रणालीको रक्षा गर्न आ-आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *