काठमाडाैं। नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ७० करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने भएको छ। यसका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई ब्याजदर प्रस्ताव पठाउन सूचना जारी गरिएको छ।
राष्ट्र बैंकका अनुसार २ अर्ब ९६ करोड रुपैयाँ वाणिज्य बैंकमा, ५५ करोड ५० लाख रुपैयाँ विकास बैंकमा र १८ करोड ५० लाख रुपैयाँ फाइनान्स कम्पनीमा राखिनेछ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले यही कात्तिक २६ गते (बुधबारसम्म) आफूले दिने ब्याजदरसहित राष्ट्र बैंकमा प्रस्ताव पठाउनु पर्नेछ । यसरी राष्ट्र बैंकको पैसा मुद्दती निक्षेपमा राख्नका लागि तोकिएका सर्तहरू भने बैंक तथा वित्तीय संस्थाले पालना गर्नु पर्नेछ ।
जसअनुसार सम्बन्धित संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पुँजी कोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कुल सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको, कर्जा–निक्षेप (सीडी) अनुपात तोकिएको सीमाभित्र रहेको हुनुपर्ने लगायत छन् ।







