काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार तीन महिनामा बैंकको मुनाफा गत आर्थिक वर्षको तुलनामा १३.८६ प्रतिशतले बृद्धि भएको छ ।
बैंकले यस अवधिमा कुल ४५ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३९ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी २७.९१ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा बैंकले एक अर्ब ६८ करोड ८५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ३२ करोड रुपैयाँको ब्याज आम्दानी गरेको थियो ।
बैंकको सञ्चालन मुनाफा १४.९४ प्रतिशतले बृद्धि भएर ६५ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५७ करोड २१ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
१३ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सानिमा बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ १५ पैसा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ७१ पैसाँ रहेको छ । बैंकको कुल वितरणयोग्य मुनाफा २ अर्ब १३ करोड रुपैयाँ छ ।







