कृषि सडक निर्माणमा अनियमितता गरेकाे आराेपमा ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । सप्तरीको महादेवा गाउँपालिकामा कृषि सडक निर्माणका क्रममा अनियमितता गरेको आराेपमा ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महादेवा गाउँपालिका-२अन्तर्गत दोमुहान डगरदेखि पश्चिम खाडो नदी हुँदै भिमबाँधसम्मको कृषि सडक निर्माण कार्यमा अनियमितता भएको ठहर गर्दै उनीहरुविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मुद्दा दायर हुनेमा कृषि विकास निर्देशनालय धनुषाका कार्यालय प्रमुख रत्न कुमार झा, सोही निर्देशनालयका कृषि विज्ञ विकास कुमार साह, लेखा अधिकृत चक्र प्रसाद अधिकारी, महादेवा गाउँपालिका–२ का वडाध्यक्ष जगदीश मण्डल रहेका छन् ।

यस्तै, कृषि सडक निर्माण उपभोक्ता समिति महादेवा–२ कजौलीका हरिनारायण यादव, समिति सचिव गंगाराम यादव, समिति कोषाध्यक्ष सावित्री देवी यादव र किरु इन्जिनियरिङ कन्सल्टेन्टका प्रोपराइटर हरिश कुमार सिंहविरुद्ध पनि भ्रष्टाचार मुद्दा परेकाे छ ।

अनुसन्धानका क्रममा आव २०७७/७८ मा कृषि विकास निर्देशनालय धनुषाबाट स्वीकृत २३ लाख ५२ हजार ८६९.६६ बराबरको कच्ची कृषि सडक निर्माण योजना सम्झौता अनुसार तोकिएको समयमा सम्पन्न नगरी अनियमित भुक्तानी गरिएको खुलेको अख्तियारले जनाएको छ ।

उक्त सडक निर्माणमा उनीहरूकाे मिलेमाताेमा ६ लाख हजार बढी भ्रष्टाचार भएकाे अख्तियारकाे आराेप छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *