वसन्तमा ७३ देशका ८ सय ४४ जनाले नेपालका हिमाल आरोहण गर्न लिए अनुमति

पर्यटन विभागका अनुसार यो वर्षको वसन्त याममा नेपालका हिमाल आरोहणका लागि अहिलेसम्म अनुमति लिनेको सङ्ख्या आठ सय ४४ जना पुगेको छ । २३ वटा हिमाल आरोहणका लागि ७३ देशका आठ सय ४४ जनाले अनुमति लिएका विभागले जनाएको हाे ।

हिमाल आरोहणका लागि अनुमति लिनेमध्ये ६ सय ५८ जना पुरुष र एक सय ८६ जना महिला रहेका छन् । आरोहीहरुमध्ये ६२ जना नेपाली र सात सय ८२ जना विदेशीले वसन्त ऋतुमा हिमाल आरोहण गर्न लागेका हुन् । विदेशी आरोहीमध्ये सबैभन्दा धेरै अमेरिकाका एक सय ३२ जना छन् । हिमाल आरोहीहरुबाट सरकारले ४४ करोड ६४ लाख भन्दा धेरै राजश्व सङ्कलन गरेको छ । धौलागिरी, आमाडब्लम लगायतका हिमालको यो यामको आरोहण शुरु भइसकेको छ भने सगरमाथामा बाटो खुलाउने काम भइरहेको छ ।

पर्यटन विभागले आरोहण समूहमा खटिएका सम्पर्क अधिकृतहरुलाई सम्बन्धित हिमालको आधारशिविरमा जान निर्देशन दिएको छ । यस अघि कतिपय सम्पर्क अधिकृत काठमाण्डौमा बसेर आरोहीहरुको प्रतिवेदन बनाउने गरेको पाइएपछि विभागले आरोहण अवधिभर आधारशिवरमा बस्न भन्दै सम्बन्धित आरोहणदलसँग आधारशिविरमा खिचेको फोटो तथा भिडियो पेश गर्नुपर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *