काठमाडाैं। गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले देशभरबाट २५१ जनालाई पक्राउ गरेको छ।
११ कात्तिकसम्मको विवरण अनुसार सबैभन्दा बढी काठमाडौंमा ९९ जना, ललितपुरमा २६ जना र भक्तपुरमा २१ जना पक्राउ परेका छन्। बाँकी अन्य जिल्लाबाट पक्राउ भएका हुन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार पक्राउ परेकामाथि कर्तव्य ज्यान, आपराधिक उपद्रव, हातहतियार खरखजना, चोरी र अभद्र व्यवहारका मुद्दा दायर भएका छन्।
उनका अनुसार प्रहरीको मेलमा आगजनी तथा तोडफोड, लुटपाट जस्ता गतिविधिका ३६ हजार भन्दा बढी भिडियो, फोटोहरूसहितको मेल आएका छन् ।
प्राप्त भिडिओ, फोटोहरूको आधारमा व्यक्ति पहिचान गरेर कारबाही गरिने प्रहरीले बताएको छ ।







