काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सन् २०२८ को अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति पदका लागि उम्मेदवार बन्ने इरादा नराख्ने स्पष्ट रूपमा घोषणा गरेका छन्। यो घोषणा उनका केही समर्थकहरूले कार्यकाल सीमा हटाई ट्रम्पलाई निरन्तर शासन गर्न दिनुपर्ने सुझावहरू दिइरहेका बेला आएको हो ।
अमेरिकी संविधानले राष्ट्रपतिहरूलाई अधिकतम दुई कार्यकालमा सीमित गरेको छ । राष्ट्रपति ट्रम्पले यस वर्ष जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेका हुन् । तथापि, उनका केही कानूनी सल्लाहकार र कट्टर समर्थकहरूले संवैधानिक सीमालाई बाइपास गर्ने उपायस्वरूप ट्रम्पले सन् २०२८ मा उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिन सक्ने र पछि शीर्ष पदमा पुनः फर्कन सक्ने सुझाव दिएका थिए ।
तर एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले ती अड्कलबाजीहरू अस्वीकार गर्दै भने, “मलाई थाहा छ, कानूनी रूपमा म त्यसो गर्न सक्ने थिएँ, तर म त्यसो गर्दिन । मलाई यो अहिलेको जस्तै सुन्दर र सही लाग्छ ।”
सन् २०१७ देखि २०२१ सम्म पहिलो कार्यकाल पूरा गरिसकेका ट्रम्पले प्राय: आफ्ना समर्थकहरूले संवैधानिक सीमाको बाबजुद उनलाई निरन्तर शासन गर्न आह्वान गरिरहेको विषयमा खुलेर बोल्दै आएका छन् । हालै उनले ओभल अफिसको कार्य टेबलमा ‘ट्रम्प २०२८’ लेखिएको रातो टोपी पनि प्रदर्शित गरेका थिए, जसले पुनः सत्ता वापसीको अड्कलबाजीलाई थप बल दिएको थियो ।
यसबीच, उनका समर्थकबीच फैलिएको एउटा लोकप्रिय धारणा अनुसार हालका उपराष्ट्रपति जेडी भान्सले सन् २०२८ मा राष्ट्रपति पदका लागि उम्मेदवारी दिन सक्नेछन्। यदि उनले जिते भने, केही समर्थकले उनले छिट्टै राजीनामा दिने र ट्रम्पलाई पुनः ह्वाइट हाउसमा फर्काउने योजना रहेको दाबी गरेका छन् ।
राष्ट्रपति ट्रम्पको पछिल्लो टिप्पणी उनका पूर्व सल्लाहकार तथा ‘मेक अमेरिका ग्रेट अगेन’ आन्दोलनका प्रमुख विचारक स्टिभ बेननले गरेको अभिव्यक्तिपछि आएको हो । बेननले हालै द इकोनोमिस्टसँगको अन्तर्वार्तामा भनेका थिए, “ट्रम्पले तेस्रो कार्यकालका लागि तयारी गरिरहनुभएको छ । सन् २०२८ मा उहाँ फेरि राष्ट्रपति हुनुहुनेछ र मानिसहरूले त्यसको लागि तयार रहनुपर्छ ।”
संविधानको २२ औँ संशोधनले राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा तोकेको प्रसङ्ग उठाउँदा बेननले उत्तर दिएका थिए, “त्यहाँ धेरै फरक विकल्पहरू छन् । उचित समयमा हामी हाम्रो योजनाबारे स्पष्ट रूपमा बताउनेछौँ ।”
राष्ट्रपति ट्रम्पको यो वक्तव्यले सन् २०२८ पछि अमेरिकाको राजनीतिक दिशाबारे भइरहेका अड्कलबाजीहरूमा नयाँ बहस थपेको छ । यद्यपि उनले स्वयंले भने आफ्नो वर्तमान कार्यकाललाई नै ‘अन्तिम र सन्तोषजनक’ बताएका छन् ।







