काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले २८ महिनादेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन रोकिँदा लगानीकर्ता र ऊर्जा क्षेत्र दुवै संकटमा परेको बताएको छ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै इप्पानले हालसम्म ९ सय ७५ मेगावाट बराबरका ४३ कम्पनीले आईपीओ निष्कासन कुरिरहेको जनाएको छ । उता, ७ कम्पनीको राइट सेयर निष्कासन रोकिएको छ । यसरी ५० कम्पनीको सेयर समयमै जारी नहुँदा २३ अर्ब २७ करोड ८ लाख बराबरको धितोपत्र निष्कासन रोकिएको छ ।
यसबाट ऊर्जा क्षेत्रले १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाउनु परेको समेत इप्पानको भनाइ छ । समयमै जारी नभएका कारण १२ अर्ब ४० करोड ५४ लाख रुपैयाँ ब्याज रकम बढेको, २४ अर्ब ३० करोड ६७ लाख लागत बढेको र ७१ अर्ब ७८ करोड ८१ लाख राजस्व आम्दानी (इप्पानको अध्ययनका आधारमा) गुमेको जनाइएको छ ।
नेपालको कानुनमा कतै समावेश नभएको ‘रियल नेटवर्थ’ भन्ने शब्द र त्यस्तो नेटवर्थ ९० भन्दा माथि हुनुपर्ने कारण देखाएर रिचेत जलविद्युत्, बेनी हाइड्रोपावर, युनिक हाइडेल, याम्बलिङ, लाफिङबुद्ध र पुवा खोला जलविद्युत् कम्पनीलाई आईपीओ आवेदनबाटै हटाइएको इप्पानले जनाएको छ । यसले समग्र ऊर्जा विकासमा गम्भीर समस्या समेत देखिन थालेको छ ।







