काठमाडौँ। गत भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको आन्दोलनका क्रममा भएको ठूलो संख्याको मानवीय हताहतीलाई लिएर अन्तरिम सरकारले केही दलका नेताहरूलाई छानबिनमा तान्ने तयारी थालेको छ।
खासगरी भदौ २३ गते पहिलो दिनको जेन-जी आन्दोलन दमन गर्न निर्देशन दिएको आरोपमा सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई छानबिनमा तान्ने तयारी गरेको हो ।
बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का बैठकका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राज्यका निकायले काम थालिसकेको बताए ।
सञ्चारमन्त्री खरेललाई पत्रकारले सोधेका थिए, ‘सरकारले केही नेताहरूको राहदानी रोक्का गर्ने गरी छानबिन प्रक्रिया अघि बढाएको समाचार आइरहेको छ, के यो सत्य हो ?’
जवाफमा उनले भने, ‘तपाईंहरूले सुनेको कुरा सत्यनजिक छ । यसमा राज्यका निकायले आफ्नो काम गरिरहेका छन् । प्रधानमन्त्रीले पनि बिहीबार राष्ट्रका नाममा सम्बोधनका क्रममा दोषी कसैलाई उम्किन नदिने बताउनु भएको छ ।’







