चुच्चे नक्सा साथमा राखेर भारतीय राजदूतसँग अर्थमन्त्री खनालको भेट

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मंगलबार भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्दै नेपालको आधिकारिक चुच्चे नक्सासहित वार्ता गरेका छन्। संविधानमै समावेश भइसकेको र अन्तर्राष्ट्रियस्तरमा समेत स्वीकृत नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी स्पष्ट रूपमा देखाइए पनि भारतले अझै मान्यता नदिँदै आएको छ। सो क्षेत्रलाई लिएर भारतले निरन्तर आपत्ति जनाउँदै आएको छ भने हालसालै चीनसँग गरेको व्यापारिक सम्झौतामा पनि विवादित नेपाली भूमि प्रयोग भएको आरोप लागेको छ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा ती भूभाग नेपालको अविभाज्य हिस्सा भएको र भारत–चीनबीच भएको सम्झौता अस्वीकार्य रहेको बताएपछि विवाद चुलिएको थियो। सोही कारण ओलीको भारत भ्रमण अनिश्चित बनेको थियो, र अन्ततः उनले राजीनामा दिनुपरेको थियो।

यसअघि भारतीय अधिकारीहरूले नेपालका नेताहरूसँग भेटघाटका क्रममा चुच्चे नक्सा देखिने वातावरण स्वीकार नगरे पनि, अर्थमन्त्री खनालले भने आफ्नै कार्यकक्षमा ठूलो नक्सा पछाडि राखेर राजदूत श्रीवास्तवसँग संवाद गरेका हुन्। भेटमा राजदूतले नेपालमा जेनजी आन्दोलनबाट बनेको सरकारलाई भारत सहयोग गर्न तयार रहेको र विगतका विकास–निर्माणका परियोजनाहरू अवरुद्ध नहुने आश्वासन दिएका थिए। अर्थमन्त्री खनालले मंगलबार नै अर्को छिमेकी मुलुक चीनका राजदूतसँग पनि सोही नक्साको पृष्ठभूमिमा कुराकानी गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *