सगरमाथा इन्जिनियरिङ कलेजले भूकम्प प्रभावित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

काठमाडौं । जाजरकोटकाे रामिडाँडा केन्द्रविन्दु भई गएकाे भूकम्पबाट प्रभावित भएका जिल्लाका विद्यार्थीलाई सगरमाथा इन्जिनियरिङ कलेजले छात्रवृत्ति प्रदान गर्ने भएको छ। ललितपुर सानेपामा रहेको कलेजले भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई स्नातक तहमा सिभिल इन्जिनियरिङ अध्ययनको लागि २ लाख ११ हजारसम्मको छात्रवृत्ति दिने घोषणा गरेको हो ।

उक्त छात्रवृत्तिमा सरकारले तोकेको दुर्गम जिल्ला, सरकारी विद्यालयमा अध्ययन गरेका र प्लस टुमा ‘ग्रेड ए’ माथि नतिजा प्राप्त गरेका विद्यार्थीहरुलाई पनि समावेश गरिएको कलेज प्रशासनले जनाएको छ। दुर्गम र भूकम्पका कारण अफ्ठेरो अवस्थामा रहेका जाजरकोट र रुकुम पश्चिम जिल्लाका विद्यार्थीहरुलाई इन्जिनियरिङ अध्ययनको लागि सहज होस् भन्ने उद्देश्यले उक्त छात्रवृत्ति दिन लागिएको सगरमाथा कलेजका प्रिन्सिपल ई. रमेश श्रेष्ठले बताए।

उनकाअनुसार कलेजले इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड इन्फर्मेसन इन्जिनियरिङ विषयमा इन्जिनियरिङ अध्ययन संस्थान प्रवेश परीक्षाको १५ सय र्यान्कभित्रका विद्यार्थीलाई संस्थानको नियमित विद्यार्थी सरह छात्रवृत्ति प्रदान गर्ने छ। त्यस्तै कलेजमा संचालित सबै संकायमा भर्ना हुने सबै छात्राहरुलाई अतिरिक्त रु. ३० हजार बराबरको छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सगरमाथा इन्जिनियरिङ कलेजमा हाल तीन विषयः बीई सिभिल, बीई इलेक्ट्रोनिक्स कम्युनिकेसन इन्फर्मेटिभ इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ अध्यापन गराउँदै आएको छ । यसैगरी, आइटी कोर्षहरुमा बीई सीएसआईटी र बीसीएस पनि संचालनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *