काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो ।
बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसअनुसार बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बैंकले भदौ ९ गते बुक क्लोज गरेको थियो। यस अनुसार भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। बैंकको हकप्रद शेयरमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ।
बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।






