काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसियाली उपाध्यक्ष जोहानेस जुटबिचबीच अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ ।
भेटमा अर्थतन्त्र, सहरी पूर्वाधार, लगानी, पर्यटन र वातावरण लगायतका विषयमा छलफल भएका हाे । अर्थमन्त्री पौडेलले नेपालको आर्थिक सूचकहरूमा सुधार आएको बताउँदै, विकास साझेदारका रूपमा विश्व बैंकसँग मिलेर अघि बढ्न चाहेको उल्लेख गरे ।
वैकल्पिक विकास वित्त परिचालन विधेयकको सन्दर्भमा उनले निजी क्षेत्रसँग सहकार्य गरी प्रतिफलमुखी आयोजनामा लगानी बढाउने तयारी रहेको बताए ।
विश्व बैंकका उपाध्यक्ष जुटले नेपालमा उच्च आर्थिक वृद्धि हुने गरी सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै, सहरी पूर्वाधार, वातावरणीय सुधार र निजी क्षेत्रको संलग्नतामा सहयोग गरिने जानकारी दिए । उनले लगानी वृद्धि र उत्पादकत्वमा केन्द्रित हुन सुझावसमेत दिएका छन् ।







