काठमाडौँ । इमेज बचत तथा ऋण सहकारी संस्थाले एक लाखभन्दा कम बचत भएका बचतकर्ताको रकम फिर्ता गर्न थालेको छ।
बागलुङ शाखामा ६१३ जना बचतकर्तालाई रकम फिर्ता गरिसकेको सहकारीले पोखरा शाखाका १५८ जना बचतकर्तालाई रकम वितरण सुरु गरेको हो।
पोखरा शाखामा जम्मा ५२४ जना बचतकर्ता रहेकामा तीमध्ये १५८ जनाको बचत एक लाखमुनि रहेको सहकारी पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार ती सबैलाई क्रमशः रकम फिर्ता गरिनेछ।
एक लाखभन्दा बढी बचत गरेका बचतकर्ताको हकमा भने बागलुङ, पोखरा, चितवन र काठमाडौंमा चलनचल्तीको मूल्यमा घर–घडेरी उपलब्ध गराउने तयारी गरिएको समितिले जनाएको छ।
समितिले पर्वतस्थित मिना ग्रुप प्रालिसँग सहकार्य गरी रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको हो। रकम फिर्ता गर्ने सर्तअनुसार सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमतीको नाममा रहेको सम्पूर्ण घरजग्गा मिना ग्रुपलाई हस्तान्तरण गरिने सम्झौता भएको समितिका संयोजक कार्कीले बताए।






