काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युतको क्षेत्रमा अपार सम्भावना रहेको भन्दै स्वदेशी तथा विदेशी लगानीकर्तालाई त्यसमा सहभागिता जनाउन आह्वान गरेका छन् ।
शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपालको जलस्रोतबाट विद्युत उत्पादनमा उल्लेख्य प्रगति भइरहेको उल्लेख गरे ।
‘नेपालमा जलविद्युतको अपार सम्भावना छ,’ उनले भने, ‘उत्पादन पनि भइरहेको छ र हामीले छिमेकी मुलुकहरूमा निर्यात गर्न सक्ने सम्भावना पनि उत्तिकै छ।’
उनले हाल देशमा विद्युतीय सामग्रीको प्रयोग तीव्र गतिमा बढिरहेको बताउँदै यस्तो प्रवृत्तिलाई थप प्रोत्साहन दिनु आवश्यक रहेको धारणा राखे। ‘इलेक्ट्रिक पावरको एग्जिबेसन अहिलेको प्रविधि र सम्भावनामा केन्द्रित छ,’ मन्त्री भण्डारीले भने।
प्रदर्शनीमा सहभागी स्वदेशी तथा विदेशी कम्पनीहरूलाई स्वागत गर्दै मन्त्री भण्डारीले विद्युत र विद्युतीय क्षेत्रको विकासमा सरकारले नीति तथा सहजीकरणमार्फत सहयोग गरिरहेको जानकारी दिए ।
शुक्रबारबाट सुरु भएको उक्त अन्तर्राष्ट्रिय प्रदर्शनी आगामी आइतबारसम्म चल्नेछ । प्रदर्शनीमा पावर, लाइटिङ, इलेक्ट्रोनिक्स, होम अप्लायन्सेस, स्मार्ट डिभाइस लगायतका क्षेत्रका विभिन्न कम्पनीहरूले आफ्नो प्रविधि र सामग्री प्रदर्शन गरिरहेका छन् ।






