काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेड ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गत ‘बेस्ट बैंक इन नेपाल’ उपाधिबाट सम्मानित भएको छ। सन् १९९२ मा युरो मनी म्यागजिनले स्थापना गरेको यो अवार्ड विश्वकै प्रतिष्ठित बैंकिङ सम्मानमध्ये एक मानिन्छ।
बैंकले ग्राहकलाई प्रदान गर्दै आएको गुणस्तरीय सेवा, सुदृढ वित्तीय अवस्था, निरन्तर प्राविधिक नवप्रवर्तन, संस्थागत सामाजिक उत्तरदायित्व (CSR) मा सक्रियता, वातावरणीय, सामाजिक तथा सुशासन (ESG) मा देखाएको लगानी र उच्चस्तरीय कार्यसम्पादनका आधारमा यो अवार्ड प्राप्त गरेको हो।
युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहिरो अनुसन्धान र मूल्याङ्कनका लागि परिचित छ। अनुभवी र अन्तर्राष्ट्रिय स्तरका वित्तीय विज्ञहरूको टोलीले मूल्याङ्कन गरी यो अवार्ड प्रदान गर्ने प्रचलन रहँदै आएको छ।
यसअघि पनि ग्लोबल आइएमई बैंकले सन् २०२२ र २०२४ मा सोही अवार्ड प्राप्त गरिसकेको थियो। यसपटकको सम्मानसँगै बैंकले तेस्रो पटक ‘बेस्ट बैंक इन नेपाल’ उपाधि हात पारेको हो।






