काठमाडौं । संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा करिव दुई खर्ब रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले एक खर्ब ८१ अर्ब ४२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले एक खर्ब ५६ अर्ब ३३ करोड रुपैयाँको व्यवसाय गरेका थिए । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीहरुको व्यवसाय १६.०५ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । साथै, अघिल्लो आर्थिक वर्षको तुलनामा सन नेपाल लाइफ इन्स्योरेन्स व्यवसाय बृद्धिमा सबैभन्दा अगाडि देखिएको छ ।
गत आर्थिक वर्ष नेपाल लाइफले ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवसाय १७.५९ प्रतिशतले बढेको हो ।
त्यस्तै, दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन १६.७७ प्रतिशतले बढेर २२ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १९ अर्ब २० करोड रुपैयाँको व्यवसाय गरेको थियो ।
समीक्षा अवधिमा एलआइसी नेपालको कुल बीमा शुल्क आर्जन १०.०४ प्रतिशतले बढेको छ । कम्पनीले वर्षदिनमा कुल १९ अर्ब ९२ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । साथै, हिमालयन लाइफको व्यवसाय ६.३४ प्रतिशतले बढेर १७ अर्ब ६६ करोड रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको १७.७५ प्रतिशतले बढेर ११ अर्ब १८ करोड रुपैयाँ, एशियन लाइफको २७.२३ प्रतिशतले बढेर १० अर्ब २४ करोड रुपैयाँ रहेको छ ।
त्यसैगरी, राष्ट्रिय जीवन बीमा कम्पनीले नौ अर्ब ८५ करोड रुपैयाँ, सिटिजन लाइफले सात अर्ब ५१ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले सात अर्ब रुपैयाँ, मेट लाइफले छ अर्ब २५ करोड रुपैयाँ, आइएमई लाइफले पाँच अर्ब ६५ करोड रुपैयाँको व्यवसाय गरेको छ ।
त्यस्तै, प्रभु महालक्ष्मी लाइफले पाँच अर्ब ३७ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले पाँच अर्ब २८ करोड रुपैयाँ र सन नेपाल लाइफले पाँच अर्ब रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छन् ।






