पोखरा । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का हायु परिवार गाउँ फर्किन तयार भएका छन् । पोखरामा बसिरहेका १९ सदस्यीय परिवारलाई गोलन्जोर गाउँपालिका ६ काका वडाध्यक्षको निरन्तर प्रयासले उनीहरू गाउँ फर्किन तयार भएका हुन् ।
वडाध्यक्ष श्रेष्ठ आफैँ पोखरा आइपुगेका छन् र परिवारलाई लिन तयारी अवस्थामा छन् । ‘उहाँहरू जान तयार हुनुभएको छ, लगभग सामान प्याक गरिसक्यौं’, श्रेष्ठले बताए, ‘अब केहीबेरमै निस्किने तयारी छ।’
तर, गाउँ फर्किन सहमति जनाए पनि हायु परिवारले आफ्नै पुरानो घरमा नजाने भएका छन्। सिन्धुली फर्किएका उनीहरूलाई केही समय आफ्नो घरमै राख्ने वडाध्यक्ष श्रेष्ठले बताए । उनले अन्त कतै आवास बनाइदिएर स्थानान्तरण गर्ने उल्लेख गरे । ‘घरमा जान मान्नु भएन, मैले आफ्नै घरमा राख्नेछु। अन्त कतै आवास बनाएपछि त्यतै सर्नुहुन्छ ।’, उनले भने।
गगनगौंडा, पोखरामा बसोबास गरिरहेका हायु परिवारका सदस्यहरू सिन्धुलीस्थित आफ्नै घरमा बालबालिका निरन्तर बिरामी पर्न थालेपछि घर छोडेर साउन ११ गते पोखरा आएका थिए । सुरुमा घर फर्कन नमान्ने उनीहरूलाई रोजगारी र सुरक्षित आवासको आश्वासन दिइएपछि मात्र सहमति भएको हो ।
सिन्धुली क्षेत्रबाट निर्वाचित सांसद श्यामकुमार घिमिरेले परिवारका दुई सदस्यलाई रोजगारीको ग्यारेन्टी दिएका छन् भने वडा कार्यालयले परिवारले लिएको ऋण तिर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ ।






