सिटिजन्स सदाबहार योजनाको इकाइ बाँडफाँड सम्पन्न

काठमाडाैं । सिटिजन्स क्यापिटल लिमिटेडले पहिलो खुलामुखी योजना, सिटिजन्स सदाबहार योजना अन्तर्गत इकाईको सार्वजनिक निष्काशन र बिक्री कार्य सम्पन्न गरेको छ। नेपाल धितोपत्र बोर्डबाट संचालन अनुमति प्राप्त गरेपछि सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडको कोष प्रवद्र्धक र सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापकत्वमा यो योजना २०८२ आषाढ १३ गतेदेखि २७ गतेसम्म सार्वजनिक गरिएको थियो।

यस योजना अन्तर्गतको इकाईको माग अपेक्षा भन्दा अधिक आएपछि, सि–आश्वा सदस्य बैंक र वित्तीय संस्थाहरूद्वारा माग गरिएका इकाईहरूको बाँडफाँड कार्य बिहीबार, २०८२ साल श्रावण १५ गते सिटिजन्स क्यापिटल लिमिटेडको कार्यालय, डिल्लिबजारमा सम्पन्न गरिएको हो।

प्रारम्भिक निष्काशन कार्यमा मागको अत्यधिक सफलता र राम्रो प्रतिक्रियासँगै, सिटिजन्स सदाबहार योजना नेपालको पहिलो २५५ खुलामुखी म्युचुअल फण्ड बन्न सफल भएको छ। बाँडफाँड समितिले तयार पारेको बाँडफाँड तालिका नेपाल धितोपत्र बोर्डमा पेश गरिएको थियो, तर बोर्डबाट कुनै कैफियत नपाएपछि सोही तालिका अन्तिम रुपमा स्वीकृत गरिएको थियो।

यस सफल निष्काशन कार्यलाई ऐतिहासिक बनाउनेमा समग्र लगानीकर्ताहरूसँगै, आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, नियामक निकायहरू, संचारकर्मीहरू र अन्य सरोकारवाला पक्षहरूको उल्लेख्य सहयोग र सद्धभावको कदर गरिएको छ।

सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्ड क्षेत्रमा निरन्तर नयाँ आयाम थप्दै ग्राहकलाई पूर्ण वित्तीय सेवा प्रदान गर्ने उद्देश्य राख्दै अग्रसर भइरहेको छ। यस कम्पनीमा सिटिजन्स बैंकको सहायक कम्पनीको रूपमा कार्यरत छ र यसको रजिष्ट्रार कार्यालय काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *