रञ्जितालाई अध्यक्षबाट हटाउन नाउपाले देखाएको यी पाँच कारण, बिहीबार नयाँ अध्यक्ष चयन हुने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट पदमुक्त गर्नुका पाँच कारण रहेको जानकारी गराएको छ । बुधबार राष्ट्रिय भेला बोलाएर श्रेष्ठलाई पार्टीको सर्वोच्च पदबाट हटाइएको हो ।

नाउपाका महासचिव ठाकुरसिंह थारुले अध्यक्ष हटाउने निर्णय विधानसम्मत भएको दाबी गर्दै पाँच बुँदामा हटाउने कारण स्पष्ट गरेका छन् ।

नाउपाले प्रस्तुत गरेका पाँच कारण:
विधान विपरीत कार्य
रञ्जिता श्रेष्ठले पार्टीको विधान विपरीत गतिविधि गरेकाले पदमुक्त गर्नुपरेको महासचिव थारुले जानकारी दिए ।

अवैधानिक कार्यवाहक अध्यक्ष नियुक्ति
श्रेष्ठले पार्टी विधानविपरीत व्यक्तिलाई कार्यवाहक अध्यक्षमा मनोनयन गरेकी थिइन्। उनले पोखराका शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन्।

केन्द्रीय बैठकसम्बन्धी उपेक्षा
बहुमत केन्द्रीय सदस्यले पटक–पटक बैठक आह्वान गर्न अनुरोध गरे पनि श्रेष्ठले बेवास्ता गर्दै आएको आरोप छ।

स्पष्टीकरण नदिएको
कार्यवाहक अध्यक्ष नियुक्तिसम्बन्धी विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन समय दिइएको भए पनि श्रेष्ठले जवाफ नदिएपछि कारबाही गरिएको हो।

जग्गा विवादमा संलग्नता
पोखराको लिचिबारीस्थित जग्गामा गरिएको चलखेलमा श्रेष्ठ मुछिएको आरोप पनि हटाउने प्रमुख कारणमा परेको छ।

पार्टीले रञ्जितालाई हटाइसकेको भए पनि नयाँ अध्यक्ष तोकिएको छैन । निर्वाचन आयोगमा अभिलेखीकरण गर्दा कानुनी अड्चन आउनसक्ने भन्दै बुधबारको बैठकले अध्यक्ष चयन नगरी बिहीबार निर्णय गर्ने भएको हो ।

महासचिव ठाकुरसिंह थारुका अनुसार गंगाराम चौधरी, लालबीर चौधरी र रामलाल डगौरा मध्ये एकजनालाई नयाँ अध्यक्ष बनाउनेबारे छलफल भइरहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *