चौतारा । विगतमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्ड रिल्याक्स गर्न जाने सुकुटे रिसोर्टले सार्वजनिक जमिनमा रिसोर्टका संरचना निर्माण गरेको आरोप पहिले नै थियो । अहिले सुकुटे रिसोर्टले व्यक्तिको जग्गा पनि हडपेको भन्दै हारगुहार गरिएपछि रिसोर्टको कर्तुत अझै खुलेको छ । ब्यक्तिकै जग्गाको आडमा रिसोर्ट सञ्चालकले सार्वजनिक जग्गामा संरचना निर्माण गरेको सिन्धु पर्यटन व्यवसायी सङ्गठनका अध्यक्ष नारायण श्रेष्ठले बताए । यो विषयमा अलिक चासो राखेका प्रमुख जिल्ला अधिकारी किरण थापालाई जबर्जस्ती सरुवा गर्नुले पनि शङ्का पैदा गरेको छ । माओवादीको संरक्षणमा रहेका रिसोर्ट सञ्चालक महेन्द्र थापाले यस क्षेत्रमा सांसद माधव सापकोटा प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीविरुद्ध बिभिन्न आरोप लगाएका थिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको बचाउमा लागेका सांसद सापकोटाले त्यसैको पैँचो प्रमुख जिल्ला अधिकारी थापालाई सरुवा गराउनु पर्ने शर्त राखेको गृहमन्त्रालयका एक अधिकारीले बताए । सोही कारण गृहले थापाको सरुवा गरेर अर्कै प्रमुख जिल्ला अधिकारी सिन्धुपाल्चोक पठाएको छ । यस अघि पनि माओवादी समर्थक भुपेन्द्र थापा प्रमुख जिल्ला अधिकारी हुँदा पीडितहरूलाई दुःख पुग्ने व्यवहार गरेको भनाई छ ।
सामान्यतया अवकाशमा जान लागेका सरकारी अधिकारीलाई सरुवा गर्ने चलन छैन । थापाको अवकाश हुने समय केही महिनामात्र बाँकी रहेको छ । असोजमा थापा अवकाश हुँदैछन् । प्रमुख जिल्ला अधिकारी थापाले सुकुटे रिसोर्टले हडपेको जग्गा फिर्ता गर्नुपर्ने विषयमा चासो राखेका थिए । रिसोर्टले जबर्जस्ती जग्गा प्रयोग गर्दै आइरहेको भन्दै पीडित परिवारले खाली गरिदिन माग गरेका छन् । बारम्बार ताकेता गर्दासमेत कुनै सुनुवाइ नहुँदा पुनः ०७८ सालमा वडा कार्यालय, जिल्ला प्रशासन, नगरपालिका र यस क्षेत्रमा क्रियाशील पर्यटन गतिविधिमा संलग्न संस्था सिन्धु पर्यटन व्यवसायी संघमा समेत निवेदन दिइएको थियो । पछिल्लोपटक ९ असार ०८२ मा वडा कार्यालयमा निवेदन दर्ता गरी छलफलका लागि बोलाए पनि जग्गा हडप्न खोज्ने होटेलका सञ्चालक उपस्थित नभएपछि निकास निस्किन नसकेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
०५४ सालदेखि सुकुटे बीच रिसोर्टले प्रविण श्रेष्ठ र उनका बुबाको नाममा रहेको जग्गा प्रयोग गरेको पीडितको आरोप छ । सुरुमा सो रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापाले मौखिक सहमतिमा २० हजार रुपैयाँ दिएर केही वर्षका लागि सो जग्गा भाडामा लिएका थिए ।
जग्गा बिस्तारै आफ्नो जस्तै ठानेर रिसोर्टले प्रयोग गरिरहेको श्रेष्ठले बताए ।
‘सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका– ९ को अरनिको राजमार्गखण्डको बालुवा भन्ने स्थानमा सिन्धु पर्यटन व्यवसायी संघका उपाध्यक्ष महेन्द्र श्रेष्ठका हजुरबुबा विष्णुलाल श्रेष्ठको एकल रूपमा रहेको खेत उनका चार भाइ छोराहरूमध्ये साहिँला छोरा सत्यलाल श्रेष्ठको भागमा पर्ने कित्ता नं. ५०७ को क्षेत्रफल ३–६–०–३ मात्र यसै क्षेत्रमा सञ्चालित सुकुटे बीच रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापालाई बिक्री गरे,’ श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बाँकी कित्ताहरू ४३० को २–३–०–२ र ५०६ को १–१३–३–२ क्षेत्रफलका जग्गा ०५४ सालमा मौखिक सहमतिमा एकमुस्ट २० हजार लिई केही समयका लागि मात्र उपभोग गर्न दिइएकोमा केही समयपछि विष्णुलाल श्रेष्ठको मृत्यु भएपछि उक्त जग्गा खाली गर्न बारम्बार अनुरोध गर्दा खाली पनि नगरिदिएको र भाडा पनि नदिएको र उल्टै शक्तिकेन्द्रहरूको आडमा प्रहरी प्रशासन लगाई पक्राउ गरी मानसिक र शारीरिक यातनासमेत दिने काम गर्दै आएको अवस्था छ ।’
जग्गा खाली गराउने विषयमा चौतारा नगरपालिकाको न्यायिक समितिमा पनि पीडितहरु पुगेका थिए । तर, माओवादी नेता कृष्णप्रसाद सापकोटा प्रमुख रहेको नगरपालिकाले यस बिषयलाई चासो नराख्नु पनि शंकाको बिषय भएको पीडितहरुको भनाई छ ।







