काठमाडौं । सात बुँदे माग राखी आजदेखि आमरण अनसन सुरु गरेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईसँग वार्ता टोली माइतीघर पुगेको छ । सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण प्रसाद मैनाली, सहरी विकास तथा भवन निर्माणका महानिर्देशक मचाकाजी महर्जन र उपमहानिर्देशक सुनिल कुमार ठाकुर र नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाको उपस्थितिमा अनसनस्थलमै वार्ता भएको हो ।
मेयर अनसनमै बस्ने र उनको तर्फबाट उपमेयरसहितको टोली वन मन्त्रालयमा गएर थप छलफल सहमति गर्ने भएको छ।

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न पाउनुपर्ने माग गर्दै उनले अनसन सुरु गरेका हुन्। स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने उनको मुख्य माग छ ।
‘पैसा छैन नीति देऊ, आत्मनिर्भर समाज बनाऔँ,’ ‘प्रकृतिको विनास हैन, संरक्षण गरौँ,’ ‘जलवायु परिवर्तनको असर, खोला खोल्सी अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौँ, प्राणीको अस्तित्व जोगाऔँ,’ लगायतका नारा लेखिएका प्लेकार्ड उनले प्रदर्शन गरेका छन् ।
आइतबार उनले माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडा लगाएर सत्याग्रह सुरु गरेका थिए । सत्याग्रहबाट माग पूरा नभएपछि उनले आमरण अनसन सुरु गरेका हुन् ।






