नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ नयाँ सवारीसाधन सार्वजनिक हुँदै, ५० भन्दा बढी ब्राण्डको सहभागिता

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को पत्रकार सम्मेलन सोमबार काठमाडौंको सोल्टी होटलमा सम्पन्न भएको छ ।

कार्यक्रमको सञ्चालन नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले गरेका थिए भने अटो एक्स्पो समितिका सदस्य गैरव सारडाले उद्घाटन मन्तव्य दिंदै एक्स्पोको उद्देश्य, विशेषता र दीर्घकालीन दृष्टिकोणबारे जानकारी दिए ।

भृकुटीमण्डपमा २१–२५ श्रावणसम्म सञ्चालन हुने यो पाँच दिने प्रदर्शनीलाई नेपालकै सबैभन्दा ठूलो मोबिलिटी एक्स्पो बनाउने तयारी गरिएको छ। अटो एक्स्पो समिति प्रमुख शिरीष कुमार मुरारकाका अनुसार प्रदर्शनी स्थलमा जलनिकासी, अपाङ्गमैत्री पूर्वाधारलगायतका सुधार गरिएको छ ।

यसपटक एक्स्पोमा ३५ वटा नयाँ सवारीसाधन सार्वजनिक हुने छन्, जसमा १५ वटा दुईपाङ्ग्रे, १५ वटा चारपाङ्ग्रे, र ५ वटा व्यावसायिक (कर्मसियल) गाडीहरू समावेश हुनेछन्। साथै, विद्युतीय सवारीसाधन र नवीनतम मोबिलिटी समाधानहरू पनि प्रदर्शनीमा प्रस्तुत गरिने जानकारी दिइयो ।

मुख्य प्रायोजक एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक विष्णु प्रसाद ज्ञवाली र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमूख कार्यकारी अधिकृत नभनित गुप्ताले प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

एभरेष्ट बैंक र नेशनल इन्श्योरेन्स प्रमुख प्रायोजक रहेको प्रर्दशनीमा टिकेटिङ्ग पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यू, वृविङ्ग पार्टनरमा हिमालयन जाभा, राईड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वर्ल्ड लिङ्ग, हस्पिट्यालिटी पार्टनरमा सोल्टि होटल, मेडिकल पार्टनरमा फ्रन्टलाईन हस्पिटल, टेलिकम पार्टनरमा एन्सेल, र म्यानेज्मेण्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।

प्रर्दशनीका आगन्तुकहरुलाई प्रायोजक कम्पनीहरुले पनि विशेष प्रावधानको व्यवस्था गरेको छ। राईड पार्टनर पठाओले प्रर्दशनलाई लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राईडहरुमा ३० प्रतिशत सम्मको छुट दिंदै छ भने मेडिकल पार्टनर फ्रन्टलाईन हस्पिटलले प्रर्दशनी स्थलमा चौविसै घण्टा एम्बुलेन्स व्यवस्थापन सहित आकस्मिक तथा सामान्य चिकित्सासेवा प्रदान गर्ने भएको छ।

यस बाहेक संस्थाले प्रर्दशनीलाई लक्षित गरेर विशेष अनलाईन प्रतियोगिता पनि सार्वजनिक गरेको छ । यो प्रतियोगितामा २१ श्रावण सम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक संजालमा अप्लोड गर्ने एक उत्कृष्ट प्रतिश्पर्धीलाई एक लाख र श्रावण २१ देखि २५ सम्म अप्लोड भएका १० उत्कृष्ट भिडियोहरु प्रत्येक लाई रु १०,००० नगद पुरस्कार प्रदान गरिने छ ।

कार्यक्रमको समापन नाइमाका अध्यक्ष रितु शिंह वैद्यले गरिन् । उनले मिडिया तथा साझेदारहरूलाई धन्यवाद दिंदै “नाइमा मोबिलिटी एक्स्पो २०२५” नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्नेमा विश्वास व्यक्त गरिन् । यसका साथै प्रर्दशनीको पाँचौ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने प्यानल डिस्कसनको वारेमा पनि जानकारी दिईन्।

प्रर्दशनीको पहिलो दिन अनिल केशरी शाहले २ बजे देखि ५ बजे सम्म ‘मोबिलिटी हिजो, आज, र भोलि’ विषयमा ज्ञानवर्धक सत्र संचालन गर्दै छन् भने अरु दिनको सत्रहरुमा त्रिभुवन विश्वविद्यलय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, र भारतको इंस्टीच्युट अफ रोड ट्राफिक एजुकेशन जस्ता विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संस्थाहरुका दक्ष तथा विज्ञ व्यक्तित्वहरुको उपस्थिती रहने छ ।

नाइमा मोबिलिटी एक्स्पोमा ५० भन्दा बढी ब्राण्डहरू सहभागी हुनेछन् । प्रर्दशनीको टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विक्री भएका टिकटहरुको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्‌को सहकार्यमा विद्यार्थीहरुलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोशिपहरु प्रदान गरिनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *